खेलकुद

स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान

१० फाल्गुन २०७९, बुधबार ०७:१५

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू को च्याम्पियन स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरिएको छ।

नेपालमा मंगलबार सम्पन्न लिग टू शृखंलामा घरेलु टोली नेपालसँग पराजित भए पनि यसअघि नै स्कटल्याण्ड च्याम्पियन बनिसकेको थियो।

कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी नटआउट ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो। लिग टू मा स्कटल्याण्डले सबै ३६ खेल खेलिसकेकोले काठमाडौंमा शृखंला सकिएपछि ट्रफी प्रदान गरिएको हो।

आईसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियन ग्लेनराइटले स्कटिस टिमलाई ट्रफी प्रदान गरे। लिग टू मा ३६ खेल खेलिसकेको स्कटल्याण्ड ५० अंक जोड्दै च्याम्पियन बनेको हो। स्कटल्याण्डले २४ खेल जित्दा १० खेलमा पराजित भएको थियो। दुई खेलमा अंक बाँडेको थियो।

लिग टू मा नेपालले स्कटल्याण्डलाई तेस्रो पटक पराजित गरेको थियो। नेपाल बाहेक अमेरिकाले पनि स्कटल्याण्डलाई ३ खेलमा हराएको थियो।

यस्तै युएईले २ पटक तथा ओमान र नामिबियाले स्कटल्याण्डलाई १-१ पटक पराजित गरेका थिए। शीर्ष स्थानको स्कटल्याण्ड र ३६ खेलबाट ४४ अंक जोड्दै दोस्रो भएको ओमान वान डे विश्वकपको क्वालिफायरमा छनोट भएको छ।

अब तेस्रो स्थानको होडमा नामिबिया, युएई र नेपाल छन्। नामिबियाको ३४ खेलबाट ३७ अंक छ। यूएईले २६ खेलबाट २७ अंक जोडेको छ। घरेलु मैदानमा ४ खेल जित्दै ८ अंक जोडेको नेपाल २८ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्