Flash News

माधव नेपाल र चीनियाँ रादजुतबीच भेटवार्ता

११ फाल्गुन २०७९, बिहीबार ०१:२७

काठमाडौँ।

राष्ट्रपतिको चुनावको मित नजिकिएसँगै बिदेशी शक्तिहरूको दौडधुप पनि बढेको छ। अमेरिका, युरोपदेखि भारत र चीनलगायत मित्र राष्ट्रहरुका अधिकारिहरुले राजनीतिक दलहरुका मुख्य नेताहरुसँगको भेटाघाटलाई तीव्र बनाएका छन्।

यसै क्रममा नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन्।

भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन्। त्यस्तै राजदूत सोङले राजदूतका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन्।

उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्न पुगेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। बुधबारमात्रै राजदूत सोङले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्