Flash News

नेपालले रोक्यो सीआईएका प्रमुख जोसेफ बर्न्सको भ्रमण

११ फाल्गुन २०७९, बिहीबार ०५:५०

काठमाडौँ। नेपाल सरकारले अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) का निर्देशक (प्रमुख) विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकेको खुलेको छ । बर्न्सले फागुन ३ र ४ मा नेपाल भ्रमण गर्ने गरी अमेरिकाले प्रस्ताव राखेकामा नेपाल सरकारले समय अनुकूल नभएको भन्दै स्वीकृति नदिएको परराष्ट्र स्रोतले जनाएको छ।

अमेरिकी सरकारले बर्न्स आउने मिति, विमानका लागि स्थान, बर्न्स आफैंले ल्याउने गाडी र सुरक्षालगायत विषयमा नेपाल सरकारलाई पहिले नै जानकारी दिएको थियो । निर्देशक बर्न्स श्रीलंकाको भ्रमण गरी नेपाल हुँदै अमेरिका फर्कने तयारीमा थिए । नेपाल सरकारले स्वीकृति नदिएपछि उनी श्रीलंकाबाटै फर्किएका छन् ।

‘नेपालमा राष्ट्रपति निर्वाचनको मुखमा शक्तिराष्ट्रका जासुस प्रमुखहरूले यस्तो भ्रमण गर्दा मुलुकको राजनीति र आम रूपमा समेत गलत सन्देश जाने भएकाले निर्देशक बर्न्सको भ्रमण अस्वीकृत गरिएको हो,’ परराष्ट्र स्रोतले भन्यो ।

स्रोतका अनुसार सीआईए निर्देशक बर्न्सको भ्रमण प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको तहबाटै रोकिएको हो । ‘यो भ्रमणको प्रस्ताव आएको र त्यसलाई सीधै अस्वीकृत गरेको विषयमा सरकारका अन्य मन्त्री र उच्च अधिकारीहरूलाई समेत जानकारी छैन,’ परराष्ट्रका एक अधिकारीले कान्तिपुरसँग भने, ‘बर्न्सको भ्रमणलाई स्वीकृति नदिइएकामा अमेरिकी सरकार भने आश्चर्यचकित भएको छ । नेपाल सरकारले भ्रमण नै यसरी रोक्छ भन्ने उनीहरूले सोचेका थिएनन् ।’

निर्देशक बर्न्सको भ्रमणको सम्पूर्ण तयारी मिलाउने जिम्मेवारी काठमाडौंस्थित अमेरिकी दूतावासको रक्षा सहचारीको कार्यालयलाई थियो । बर्न्स अमेरिकी हवाई सेनाको सी–१७ ग्लोबमास्टर–३ बोइङको चार्टर जहाजमा आउन लागेका थिए । उनको टोलीमा २४ जना हुने प्रस्ताव थियो । विमान फागुन ३ गते बेलुकी ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र फागुन ४ गते दिउँसो १ः१५ बजे फर्कने अमेरिकी प्रस्ताव थियो । उनी नेपाल उत्रनु अघि र पछि थप दुई वटा सी–१७ ग्लोबमास्टर–३ जहाज ल्याउन लागिएको थियो ।

बर्न्स आउँदा विमानबाट कूटनीतिक सहजता मिल्ने गरी सामग्री पनि ल्याउने प्रस्तावमा उल्लेख थियो । उच्च सुरक्षाका लागि निर्देशक बर्न्सले आफ्नो लागि विमानमै गाडी ल्याउने प्रस्ताव गरेका थिए । भ्रमणका दौरान सीआएई निर्देशक बर्न्सले कस–कसलाई भेट्ने तथा के–के काम गर्ने भन्नेबारेमा भने केही पनि बाहिर ल्याइएको थिएन ।

सन् २०२१ मार्च १९ मा निर्देशकमा नियुक्त भएका बर्न्सलाई अमेरिकामा संकटको बेला काम गर्ने कर्मचारीका रूपमा चिनिन्छ । कूटनीतिक सेवामा ३३ वर्ष बिताउने क्रममा उनले विभिन्न मुलुकमा राजदूतको जिम्मेवारी सम्हालिसकेका छन् । उनी विदेश उपमन्त्री र राजनीतिक मामिला उपमन्त्री पनि भइसकेका छन् ।

अमेरिकामा सीआईए र त्यसका निर्देशकले गुप्तचर सूचना संकलन, विश्लेषण, गोप्य कार्य, काउन्टर इन्टेलिजेन्स र विदेशी सेवासँग सम्पर्क–सम्बन्ध व्यवस्थापन गर्छन् । उनीहरूले मानव स्रोतबाट प्राप्त विदेशी जासुसी जानकारी व्यवस्थापनको पनि निरीक्षण गर्छन्, जसलाई हुमिन्ट ९मान्छेको इन्टेलिजेन्स० भनिन्छ । सीआईए निर्देशकले राष्ट्रिय इन्टेलिजेन्सका निर्देशकलाई रिपोर्ट गर्छन् । सिनेटको सल्लाह, सहमति र पुष्टिका साथ राष्ट्रपतिले निर्देशक मनोनीत गर्छन् ।

नेपालमा पछिल्लो समय अमेरिकाबाट लगातार भ्रमण भइरहेको छ । राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड माघ १६–१७ मा, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० की प्रमुख ९प्रशासक० समान्था पावर माघ २४–२५ र दक्षिण तथा मध्य एसिया मामिला ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरले फागुन १ र २ मा भ्रमण गरेका थिए । ‘हामीले नेपालको चासो अनुसार राजनीतिक, कूटनीतिक र सहयोगलगायत विषयमा हुने भ्रमणलाई स्वीकृति दिएका छौं । तर जासुसी स्तरको भ्रमणलाई अहिलेको समयमा स्वीकृति दिएनौं,’ परराष्ट्र स्रोतले भन्यो । साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्