Flash News

रुस–युक्रेन युद्धको नेपालसहित १४१ देशले गरे रुसको भर्त्सना

१२ फाल्गुन २०७९, शुक्रबार ०५:३४

काठमाडौं। संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ।

यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए। रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ। यही युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ। महासभाले लडाइँ रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको छ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो। २०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए। त्यसयता दुवै तर्फका सेनामा ठूलो क्षती भएको छ। रुसी आक्रमणबाट युक्रेनका थुप्रै सर्वसाधारण पनि मारिएको, कयौं मानिसहरु छिमेकी देशमा विस्थापित भएको र शहरहरु खण्डहरमा परिणत भएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन्।

प्रतिक्रिया दिनुहोस्