Flash News

राष्ट्रपतिमा पौडेल र नेम्वाङ्को उम्मेदारी दर्ता

१३ फाल्गुन २०७९, शनिबार १३:४६

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन्।

त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।

यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्। यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

एमालेको तर्फबाट नेम्वाङले गरे उम्मेदारी दर्ता

त्यस्तै एमालेका नेता सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिका लागि उम्मेदारी दर्ता गरेका छन्। साथै उनले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने समेत दाबी गरेका छन्।

नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ। पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए। त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।’

अझै विश्वास छ भन्ने प्रश्नमा उनले भने, ‘विश्वास छ र त उठिराखेको छु। अहिलेसम्म उम्मेदवारी दर्ता गर्न कोही आउनुभएको छैन। आउनुभएछ भने पनि सम्मान छ।’ प्रतिस्पर्धा भए त्यसको परिणामलाई स्वीकार गरेर अघि बढ्ने समेत उनले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्