काठमाडौँ। निवर्तमान गृहमन्त्री रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् । राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।
२१ फेब्रुअरी २०१४ ९२०७०० मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।
नेपाली राहदानी लिने बेलामा उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्टसमेत रहेको पाइएको थियो । जसअनुसार राहदानी ऐन, २०७६ अनुसारको कसूरमा रविविरुद्ध अनुसन्धान पनि हुन सक्ने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।