Flash News

घेराही-तुलसीपुर सडकका लागि बजेट सुनिश्चित

१२ मंसिर २०८१, बुधबार १६:२८

पाण्डव शर्मा

घाेराही, १२ मंसिर । लामाे समयदेखि अलपत्र रहेकाे घाेराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारकाे काममा देखिएकाे अन्योैलता अन्त्य भएको छ ।

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको सो सडक ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयसम्म अलपत्र परेको थियो ।

सरकारले यसअघि नै उक्त ठेक्का सम्झौता तोडिसकेको थियो । अर्थ मन्त्रालयले हिजो राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालय समक्ष पत्र पठाएको थियो ।

अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । साे सडक खण्डकाे २१ दशमलब ५८ किमी क्षेत्रमा काम हुनेछ ।

लामो समयसम्म सडक विस्तार अलपत्र परेपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयमा निरन्तर बजेट सुनिश्चितताका लागि पहल गरिरहनुएको थियो । “अब तत्काल ठेक्का प्रक्रिया शुरु भएर चारलेन विस्तारको काम हुनेछ,” महासचिव पोखरेलले भन्नुभयो “लामो समयसम्म दाङबासीले दुःख पाउनुपर्यो, अब समयमै काम सम्पन्न गर्ने गरी काम गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्