Flash News

फुटबल टिमको प्रशिक्षकमा अल्बर्टो एनेस नियुक्त

१७ फाल्गुन २०७९, बुधबार १५:५४

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।

विवादका बीच बुधबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो। साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ।

यो प्रतियोगिताअघि अल्बर्टोलाई प्रशिक्षक नियुक्त गरिएको हो। यसअघि कुवेतका अल्दुल्लाह अलमुताइरीपछि एन्फाले प्रदीप हुमागाइँ र प्रवेश कटुवाललाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो। अल्बर्टो एनेस इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन्।

आफ्नो कोचिङ करियर इटालीमा सुरु गरेका उनी लाटभिया, घाना, प्लेस्टाइन, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतका टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ। उनले भारतको गोकुलम केरलाको प्रशिक्षक हुँदा लगातार दुई सिजन आइलिग उपाधि जितेका थिए।

सन् २०१० मा आफ्नो व्यवसायिक कोचिङ करिअर सुरु गरेका उनी सन् २०१७ मा घानाको प्रिमियर लिग क्लब बेचेम युनाइटेडमा नियुक्त भए। क्लब २०१८ घाना सुपर कप उपविजेता भयो। २०१८ मा उनी इन्डोनेसियाको लिग वान क्लब पिएसआइएस सेमाराङको प्रशिक्षक नियुक्त भएका थिए। उनले २०१९  मुख्य प्रशिक्षकको रूपमा सेन्ट्रल अमेरिकी देश बेलीज राष्ट्रिय फुटबल टोलीसँग एक वर्षको सम्झौता गरेका थिए।

सन् २०२० मा उनी भारतको आइलिग क्लब गोकुलम केरलाको प्रशिक्षक भए। उनको नेतृत्वमा क्लबले २०२०-२१ सिजनमा आइ लिग जित्यो। उनको प्रशिक्षणमा केरलाले २१ खेलसम्म अपराजित रहदै इतिहास रच्यो। उनको नेतृत्वमा केरलाले २०२१-२२ पनि उपाधि जित्यो।

२०२२ एएफसी कप समूह चरणको उद्घाटन खेलमा केरलाले इन्डियन सुपर लिग क्लब एटीके मोहन बागान विरुद्ध ४–२ को ऐतिहासिक जित हासिल गरेको थियो। गत वर्ष उनले क्लब छाडेका थिए।  उनी गत डिसेम्बरदेखि इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडमा मुख्य प्रशिक्षकको रूपमा आबद्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्