Flash News

विराज महर्जन थ्रीस्टार फर्किए

१९ फाल्गुन २०७९, शुक्रबार १०:५०

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन्।

अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए। त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए।

शुक्रबार पुन: थ्रीस्टार क्लबसँग सम्झौता गरेका उनले आफ्नो करिअरमा थ्रीस्टारको महत्व विशेष रहेको र सधैं रहिरहने बताए। विराजले क्लबमा फर्किन पाउँदा गर्व अनुभूति भएको भन्दै जिम्मेबारी पूरा गर्न प्रतिबद्ध रहेको र त्यसका लागि कडा मिहिनेत गर्ने पनि बताए।

विराजले तीन फरक क्लबबाट लिग जितेका छन्। २०६९ मा थ्रीस्टारबाट, २०७५ मा मनाङ मर्स्याङ्दीबाट र २०७६ मा मछिन्द्र क्लबबाट उनले लिग उपाधि जितेका छन्। गत सिजन भने उनको कप्तानीमा रहेको क्लब च्यासल रेलिगेसनमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्