सिरहा । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ । चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर –कमला ४ लेन सडकको सिरहा जिल्ला क्षेत्रमा मात्र ३ सय ५८ वटा विद्युतको पोल अझै सडकमै छ । प्राधिकरणले पोल नसार्दा साइट क्लियर नभएको भन्दै निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरिरहेको छ ।
लहान शहर क्षेत्रमा मात्र १४७ वटा विद्युतीय खम्बा सडकमै उभिएको छ । गोलबजार नगरपालिका भित्र १०९ , कर्जन्हा नगरपालिका भित्र ५६ र मिर्चैयामा ४६ वटा विद्युतको पोल सडकबाट हटाउन बाँकी छ । शहर बजारक्षेत्रमा सडक निर्माणमा ढिलाई हुँदा धूलो उड्यो भनेर वाराम्वार स्थानीयले आवागमन अवरुद्ध पार्ने गरेका छन् । तर विद्युतको पोल नहटाइदिंदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् ।
सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइराला भन्छन् सडक निर्माणमा ढिलाई भयो भनेर जनता र सरकार दुबैतर्फबाट दवाव आइरहेको छ तर ठेक्का लागेको ५ वर्ष भइसक्दा पनि अझै साइट क्लियर भएको छैन । कोइराला भन्छन् हामीले विद्युत प्राधिकरण लहान र मिर्चैया शाखालाई पोल सार्न छुट्याइएको बजेट गत वर्ष नै हस्नतारण गरेका हौं । तर अहिलेसम्म साइट क्लियर गरिएको छैन । कसरी द्रुत गतिमा काम गर्ने ? चाइना कम्पनीले पोल हटाउन हप्तै पिच्छे ताकेता गर्छ ।
नेपाल विद्युत प्राधिकरण मिर्चैया शाखाका प्रमुख मनोज कुमार शर्मा भन्छन् हामीसँग जति जनशक्ति छ त्यसको उपयोग गरेर दैनिक पोल सार्ने कार्य भइरहेको छ । पोल सार्दा उपभोक्तालाई विद्युत सप्लाई रोक्नु पर्छ । त्यसकारण उपभोक्तालाई पनि मार पर्नु भएन । सन्तुलन मिलाएर काम गर्दैछौं ।
विद्युत पोल नसारेकै कारण लहान, गोलबजार , मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारहरुमा सडक निर्माण कार्य शून्यमा छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडक निर्माणको ठेक्का लिएको हो । कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाई रहेको छ । कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन ।
त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानकारी दिएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने देखिन्छ ।