खेलकुद

अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक

२३ फाल्गुन २०७९, मंगलवार १०:५२

काठमाडौं। फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् । अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो । अवार्ड जितेका अलमुताइरी अहिले नेपालको प्रशिक्षक छैनन् ।

प्रतिक्रिया दिनुहोस्