Flash News

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

१६ माघ २०७९, सोमबार ०२:३०

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्।

उनले शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै शहीद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी हुन्।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् । उनले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिनुहुने सम्पूर्ण शहीदहरुको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरे ।

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । “नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भने।

प्रतिक्रिया दिनुहोस्