काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन् ।
पक्राउ परेकामध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र दिपेशले मलेसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौं टेकुबाट बुधबार तथा दिपेशलाई काठमाडौं टेकुबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।