स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा उपचार गर्ने अत्याधुनिक फेको प्रविधि सुरु

२४ माघ २०८१, बिहीबार १७:१९

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा उपचार गर्ने अत्याधुनिक फेको प्रविधि सुरु भएको छ। सरकारी अस्पतालमा विरलै पाइने यो प्रविधि जुम्लाले सुरु गरेको हो।

फेको सर्जरीमा मोतीविन्दु भएको लेन्सलाई ननिकाली मेसिनले नै खाने र उपचारमा सहज हुने प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. विश्वराज तिमिल्सिनाले बताए।

“यो प्रविधि अनुसार आँखामा पट्टि नै लगाउनु पर्दैन,” उनले भने, “अप्रेसन गर्न वित्तिकै टिभी हेर्न मिल्छ। अर्थात तुरुन्तै रिकभर हुन्छ।”

उनका अनुसार यो निकै नयाँ प्रविधि हो। अर्थात फोकोमा पनि नयाँ प्रविधि हो। यसलाई टोर्सनल फेको प्रविधि पनि भनिन्छ।

प्रतिष्ठानलाई यो मेसिन तिलगंगा आँखा अस्पताल र फ्रेड हलोजको सहयोगमा प्राप्त भएको उनको भनाई छ।

“यो प्रविधि सुरु भयो। अब बिमाका बिरामीले पनि लाभ लिन पाउनेछन्,” उनले थपे।

उनका अनुसार पुरानो प्रविधिको सर्जरीमा आँखामा घाउ बनाएर मोतिविन्दु निकाल्ने र त्यसमा नयाँ लेन्स हाल्ने गरिन्थ्यो। त्यसले बिरामीलाई केही असहज हुन्थ्यो।

नयाँ अत्याधुनिक फेको प्रविधि सुरु भएसँगै यो जुम्ला लगायत माथिल्लो कर्णालीका जनताको आँखाका समस्या टर्ने प्रतिष्ठानका निमित्त अस्पताल निर्देशका डा. प्रेणित पोखरेलले बताए।

“पहिला आँखा उपचारको लागि शिविरको कुर्नु पर्थ्यो। अब तीदिन पनि गए डा. विश्व र डा. प्रकाशले धेरै काम गर्नु हुनेछ,” उनले भने, “यो सेवा सुरु गरिसकेपछि प्रदेश सरकारले माथिल्लो कर्णालीका जिल्लामा सेवा दिने वातावरण बनाउनेमा आशावादी छौं।”

उनले विकटमा काम गर्नलाई आँखासम्बन्धि सबै संस्थाहरु मिलेर काम गर्न तयार रहेको बताए। उनका अनुसार यो प्रविधि सुर्खेत अस्पताल पछि जुम्लाले सुरु गरेको हो।

source : kuteero.com

प्रतिक्रिया दिनुहोस्