Flash News

को हुन् चीनका नयाँ प्रधानमन्त्री ली छ्याङ् ?

२८ फाल्गुन २०७९, आईतवार ०७:०३

एजेन्सी। चीनको प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त भएका छन्। संसदको अधिवेशनले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो। छ्याङ राष्ट्रपति सी जीनपिङ निकट व्यक्ति हुन्। ६३ वर्षीय उनले संसदमा २९ सय भन्दा बढी मत पाएका थिए। २९ सय ४७ सदस्यीय मध्ये २९ सय ३६ जनाले उनलाई मतदान गरेका थिए। संसदमा ८ जनाको अनुपस्थिति थियो।

प्रधानमन्त्रीमा नियुक्त उनी व्यवहारिक नेताका रूपमा परिचित छन्। उनले अब चीनको अर्थतन्त्रलाई सम्हाल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीका रूपमा लीलाई नियुक्त गर्दै सीले आफ्ना समर्थकबाहेक अन्यलाई उच्च पदमा स्थान नरहेको विषय प्रस्ट पारेको विश्लेषकहरूको मत छ। ‘ली सीका निकै निकट मानिस हुन्। उनलाई प्रधामन्त्रीमा नियुक्त गरेर सीले आफ्ना विरोधीहरूका लागि कुने स्थान नरहेको सन्देश दिएका छन्,’ उनले भने।

सांघाइ प्रमुखबाट पार्टीमा बढुवा हुँदै प्रधानमन्त्री बनेका ली

सी झेझियाङ प्रान्तको प्रमुख हुँदा ली प्रमुख सहयोगी थिए। त्यसबेलादेखिनै उनीहरूबीचको मित्रता गहिरो बन्दै गएको हो। ली सन् २०१२ मा झेझियाङ प्रान्तका गर्भनर भएका थिए। त्यसपछि झियाङ्सु प्रान्तका पार्टी प्रमुख भएका उनले सन् २०१७ मा सांघाइको कमाण्ड सम्हाले।

पार्टीको पोलिटव्युरो स्ट्यान्डिङ् कमिटीमा बढुवा भएको चार महिनामै लीले मुलुकको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका हुन्। लीका लागि यो सबैभन्दा ठूलो हो। मुलुकको वित्तिय राजधानी रहेको सांघाइको पार्टी प्रमुख थिए ली। उनी महाधिवेशनबाट पार्टीको दोस्रो बरियातामा एकैपटक पदोनन्ती भएका थिए। लीले सीको शुन्य कोभिड नीतिको कडाइका साथ पालनामा सहयोग गरेका थिए।

व्यापारीहरूले उनलाई आविष्कारक पनि भन्छन्। आविष्कारका लागि पार्टीका कठोर सिद्धान्तका बाबजुद आविष्कारमा उनको योगदान रहेको व्यापारीहरूको भनाइ छ।‘ली सीप्रति बफादार भएरनै उनले यो जिम्मेवारी पाउन लागेकोमा कुने सन्देह छैन।

सीले हाम फाल भनेमा उनले उचाइ सोध्ने समार्थ्य राख्छन्। ली स्मार्ट छन् उनी असल सञ्चालक हुन्,’ युरोपियन युनियन च्याम्बर अफ कमर्स चीनका अध्यक्ष जर्ज उत्के भन्छन्। जर्जले सन् १९९० देखि चीनमा व्यापार गर्दै आएका छन्। चिनिँया कम्युनिस्ट पार्टीका धेरै नेताहरूसँग संगत गर्दै आएका छन्।

टेस्लाको उत्पादन उद्योग चीनमा भित्र्याउने श्रेय ली छ्याङलाई जान्छ। अमेरिका बाहिर टेस्लाको पहिलो उद्योग चीनमा स्थापना भएको थियो। सन् २०१९ मा लीले सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्ने घोषणा गरेका थिए।‘सांघाई अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्नेछ। यसले चीनलाई आर्थिक भुमण्डलीकरणको युगमा नयाँ स्वरूपमा लानेछन्,’ उनले भनेका थिए।

ली आर्थिक स्थितिलाई चलायमान बनाउनका लागि चीनको उदार नीतिलाई मिच्न पनि तयार देखिन्छन्। सन् २०१६ मा ली चीनको पूर्वी क्षेत्रको जियाङसुको पार्टी सचिव भएका थिए। त्यहाँ उनले अलिबाबाका संस्थापक ज्याकमा लगायत अन्यसँग बैठक गर्दै त्यहाँ व्यापारको वातावरणको आधार तयार गरे।

प्रधानमन्त्रीका रूपमा आर्थिक अवस्था सुधारका लागि ली अब जिम्मेवार हुनेछन्। उनले अमेरिकासँगको विग्रदो सम्बन्ध र कोभिडका कारण ध्वस्त अर्थतन्त्र दुबैलाई बलियो बनाउनुपर्नेछ। विगतमा पनि आर्थिक सुधारका लागि काम गरेको हुनाले मुलुकको अर्थतन्त्रलाई गति दिने काम लीबाट हुने अपेक्षा राखिएको छ।

सीको नीतिमा आधारित भएर उनले प्रविधि उद्योग र आविष्कारमा केन्द्रित हुनसक्ने बताइएको छ। चीनको अर्थतन्त्र सुधारका लागि सीले प्रधानमन्त्री लीलाई स्वतन्त्र छोड्ने अनुमान गरिएको छ।‘सीको विश्वासपात्र भएकाले अर्थतन्त्र सुधारका लागि उनले लीलाई स्वतन्त्र छोड्न सक्छन्। सांघाईमा कडा लकडाउन गरेका कारण लीले सीको विश्वास थप जितेका छन्,’ सांघाइ विश्वविद्यालयका पूर्व प्राध्यापक चेन दावइन् भन्छन्।

सीसँग कसरी काम गर्ने भन्ने विषयमा ली राम्रोसँग जानकार रहेको विलिय लेम भन्छन्। उनी वासिंटनमा आधारित बौद्धिक संस्थामा कार्यरत छन्।‘सीले साथ नदिएर लीले कुनैपनि राजनीतिक उचाइ लिएका छैनन्। ली सीप्रति ऋणी भएकाले उनी शतप्रतिशत आदेश पालक बन्नेमा कुनै द्वविधा छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्