काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुहाइटमा रहेको शितला माध्यमिक विद्यालयमा एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी विद्यार्थीहरूलाई पाठेघरको क्यान्सरबाट जोगाउन नेपाल सरकारको पहलमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. १६ चमतीका स्वास्थ्यकर्मीहरूको टोलीले निःशुल्क खोप प्रदान गरेको हो ।
कार्यक्रममा विद्यालय प्रशासन, अभिभावक, विद्यार्थी तथा स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। स्वास्थ्यकर्मीहरूले खोपको महत्व तथा यसको दीर्घकालीन लाभबारे जानकारी गराउँदै खोपप्रति विद्यार्थी तथा अभिभावकहरूलाई सचेत गराएका थिए ।
विद्यालयका प्रधानाध्यापकले यस्तो अभियानले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेभने शिक्षक कर्मचारीहरुले नेपाल सरकारले गरेको यस्तो सकरात्मक कदमको मुक्त कण्ठले प्रसंशा गरे । स्थानीय अभिभावकहरूले आफ्ना छोरीहरूले समयमै खोप प्राप्त गर्न पाउँदा उनीहरुका नानीहरुको पाठेघरको क्यान्सर विरुद्ध लड्न सक्ने क्षमताको विकास हुने भएकोले खुसी व्यक्त गरेका थिए ।
नेपाल सरकारले एचपीभी खोप अभियानलाई प्राथमिकतामा राख्दै देशभरिका विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, एचपीभी खोपले भविष्यमा पाठेघरको क्यान्सरको जोखिमलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।