रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ ।
३२ औँ स्थापना दिवसको अवसरमा संस्थाले बुधबार मन्थलीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारसँग साझेदारीमा काम गर्न आह्वान गरे । उनले मन्थलीमा कम्तीमा निजी क्षेत्र र नगरपालिकाको सहकार्यमा २०÷३० जनालाई रोजगारी दिने उद्योग सञ्चालनको प्रस्ताव ल्याउन आग्रह गरे ।
श्रेष्ठले स्थानीय उत्पादनको लेवलिङ र बजारीकरणको लागि सहकार्य गर्न पनि उद्योग वाणिज्य संघलाई आग्रह गरे । एकले अर्काको बारेमा गुनासो गर्ने भन्दा पनि सहयोग र सहकार्य गरेर अघि बढ्न उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।
‘गुनासो गरेर होइन, सहकार्य गरेर अघि बढौँ, सकेको ठाउँमा सबैले टेवा पुर्याउँ, सकारात्मक सोच्दै कमी कमजोरी सुधारेर अघि बढौँ’, उनले भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई बढी नाफाखोर नहुन सुझाव दिए । उनले व्यवसायीको हितका कुरा गर्दा उपभोक्ताको हितमा पनि ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखकबहादुर कार्की, एमाले रामेछापको उपाध्यक्ष होतराज ढकाल लगायतका राजनीतिक दलका नेताहरू तथा नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिले पनि संघको प्रगतिको शुभकामना दिएका थिए ।