स्वास्थ्य

निजी अस्पताल अनुगमनमा मुख्यमन्त्री सिंह, गरुडाका १०  अस्पताल बन्द गर्न निर्देशन

२३ फाल्गुन २०८१, शुक्रबार १०:४६

जनकपुर ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरुडा नगरपालिकामा रहेका १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका अस्पताललाई मुख्यमन्त्री सिंहले बिहीबार  साँझ अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन् ।

गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले बताए ।

उनका अनुसार अस्पताल सेवा सञ्चालन अनुमति वा दर्ता नगरेका, लामो समय देखि  नवीकरण नगराएका र कानुनी प्रावधान विपरीत निर्धारित संख्या भन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन गरेकालाई बन्द गर्न भनिएको छ ।

अनुगमन समितिले बन्द गर्न लिखित पत्र दिँदै मापदण्ड पुरा गरि मात्र सञ्चालन गर्न सुझाव दिएको छ । यस अघि चन्द्रपुर  नगरपालिकाका १० वटा अस्पताल बन्द गर्न  मुख्यमन्त्री सिंहले निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्