काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शनिबार आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको भन्दै यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको बताए ।
यस्तै, उनले नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको बताए ।
उनले, महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न सबैमा आह्वान गरेका छन् ।
उनले ८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र संगठितरुपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त पनि गरेका छन् ।