काठमाडौं । यस वर्ष होलीको व्यापार अपेक्षाअनुसार चल्न सकेको छैन् । काठमाडौंका भित्री व्यस्त बजारहरु असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा अपेक्षित चहलपहल छैन् ।
असन बजार, जुन काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो र व्यापारिक दृष्टिले महत्त्वपूर्ण बजार मानिन्छ, उक्त क्षेत्रका पसलहरुमा चहलपहल न्यून छ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण होलीको किनमेल एवम चहलपहल सुस्ताएको छ ।
होलीका लुगाहरूसमेत बिक्न सकिरहेका छैनन् । एक दशकअघि मात्र होलीको समयमा असन बजार रंगीन र चहलपहलले भरिएको हुन्थ्यो, तर यस वर्षको स्थिति भने अलि फरक देखिन्छ । व्यापारीहरुकोको दृिष्टकोणबाट अर्थिक मन्दी र बेरोजगारीको कारण व्यापारमा कमी भएको हो ।
यसपाली होली अर्थात फागु पूर्णिमामा व्यापारिक माहोल सोचे अनुरुप छैन् । बजार सुनसान छ । पहिले पहिले एक महिनादेखि नै होलीमा लोलाले हानेर हैरान पार्ने युवा पुस्ताहरु होली मुडमा देखिदैनन् । प्रशासनले गरेको कडाइका कारण पनि बजारमा चहलपहल घटेको छ ।
खचाखच हुने असन बजार क्षेत्र होलीको पूर्वसन्ध्यामा सुस्त छ । व्यापार निकै घटेको देखिएको छ । केही वर्षअघि होलीको समय बजारमा अत्यधिक चहलपहल हुने गथ्र्यो, व्यापारको मेला जस्तो हुन्थ्यो, तर अहिलेको परिस्थिति फरक देखिन्छ ।
व्यापारिक गतिविधिहरू घटेका छन् । नेपाल न्यूज बैंकले विभिन्न व्यापारीहरूसँग कुरा गर्दा, उनीहरूले बेरोजगारी र आर्थिक मन्दीलाई मुख्य कारणको रूपमा प्रस्तुत गरेका छन् ।
विगत २५ वर्षदेखि असनमा व्यापार गर्दै आएका कुष्ण श्रेष्ठको भनाइ अनुसार, होलीका रंग र अन्य सामानका मूल्यहरू भने पहिले जस्तो महँगो भएका छैनन्, तर व्यापार अझै पनि कम छ । उनले भने, ‘होलीको व्यापार मन्द छ । पहिलाको जस्तो यो वर्ष व्यापार छैन् । धेरै युवा विदेशिएको र होली पर्वलाई लक्षित गरेर सरकारले गरेको कडाइका कारण व्यापार घटेजस्तो लाग्छ । बेरोजगारी पनि मुख्य कारण हो होलीका लागि रंगहरु र अन्य सामग्री भारत साथै चीनबाट आएका छन्। होलीको सामग्रीहरुमा कुनै मूल्य वृद्धि भएको छैन । पुरानै मूल्य भएर पनि व्यापार बढ्न सकेको छैन ।’
साथै उनले आर्थिक संकटले गर्दा मानिसहरूको संख्या बजारमा घटेको बताए । यसैगरी मुन्ना कुमार जेसवाललाई समेत लगभग असनमै व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो । उनले पनि तीनचार वर्षदेखि व्यापार जति हुनुपथ्र्यो त्यति हुन नसकेको बताए ।
उनले भने, ‘लगभग व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो । तीनचार वर्षदेखि व्यापार जति हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । होलसेलमा आएका होलीका लुगाहरुसमेत बिकेका छैनन् ।’
साथै उनले आर्थिक मन्दी र व्यापारको सुस्त अवस्थाले सबै क्षेत्रमा असर पारेको बताए । जसले गर्दा नेपाली उत्पादकहरूलाई पनि विक्रीमा कष्ट भइरहेको छ ।
‘नेपाली उत्पादन भएर पनि विक्री हुन सकेको छैन,’ जेसवालले भने । साथै, भारतबाट भन्सार तिरेर सामान ल्याउनुपर्ने भएकाले खर्च बढेको र त्यसले पनि व्यापारमा कमी ल्याएको उनी बताउँछन् ।
‘यो वर्ष होलीको व्यापार अतितका वर्षहरूको तुलनामा निकै घटेको छ । पोहोरको होलीमा व्यापार गर्दा दिनभरी भ्याइनभ्याइ हुन्थ्यो, तर यो वर्ष एकसयदेखि दुईसय पिस जति मात्र होलीका लुगाहरू बिकिरहेका छन् ।’
असन बजारका व्यापारीहरूको समस्यालाई हेरेर, आर्थिक स्थिति र विदेश गएर बसेका मानिसहरूको असर स्पष्ट देखिन्छ । जसले गर्दा होलीको व्यापार पहिलेजस्तो राम्ररी चल्न सकेको छैन । आर्थिक संकट र मन्दीले बजारको चहलपहल घटाएर, व्यापारमा कमी ल्याएको छ ।
तथापि, नेपाली उत्पादनको बिक्रीमा केही आशा देखिएको छ । यसैगरी अर्का असनकै व्यापारी रामु कुमार भन्छन्, ‘व्यापार घट्दै गएको छ । होलीका लुगाहरू पहिलाजस्तो बेचिएका छैनन् । यसले एक प्रकारको चिन्ता व्यक्त गरेको छ ।’
उनले भने, ‘पहिलाको वर्षहरूमा होलीको समयमा राम्रो व्यापार हुन्थ्यो, तर अहिलेको समयमा बजारमा मान्छे छैन । सबै विदेशतिर गएका छन् र त्यो पनि व्यापार घट्नुको कारण भएको छ ।’
यसैगरी रामु कुमारका अनुसार, यस वर्ष एक हप्ता अगाडि नै लुगाहरू ल्याएर राखिएको थियो । तर सबै विक्री हुन सकेका छैनन् । ‘यो वर्ष व्यापार छैन् । विगतका दिनमा होली टिसर्टहरु एक हजार पिस बिक्थे, तर यस वर्ष डेढसय पिस मात्रै बिक्री भएका छन्,’ उनले भने । ‘होलीका लुगाहरू यद्यपि महंगो छैनन्, तर व्यापार घटेको कुरा उनी अचम्मजनक ठान्छन् ।’
यस वर्षको लागि ल्याएका कुर्ता र टिसर्टहरू नेपाली बजारमा सामान्य मूल्यमा बिक्री भइरहेको छ । कुर्ताहरू ३९० रुपैयाँमा र टिसर्ट ४०० रुपैयाँमा बिक्री भइ रहेको छ । यद्यपि, भन्सार तिरेर भारतीय उत्पादन ल्याउनुपर्ने अवस्थाले व्यापारमा थप दबाब सिर्जना गरेको छ ।
रामु कुमारले भने, ‘हामीले इण्डियाबाट भन्सार तिरेर होलीका लुगाहरू ल्याएका छौं । तर नेपाली उत्पादनहरू भने बढी बिक्री भइरहेको छ,’ उनी थप्छन्, ‘नेपाली उत्पादनका लेडिज कुर्ताहरूको उत्पादन नेपालमा हुँदैन, त्यसैले विदेशबाट ल्याउनुपर्ने अवस्था आउँछ तर यसका बावजूद नेपाली लुगाहरूको बिक्री बढी भएको छ ।’
साथै उनले असली चुनौती भनेको आर्थिक संकट र विदेश जान खोज्ने युवा वर्गको बढ्दो संख्या भएको बताए ।
यसैगरी मनिष चौधरी, जो असन बजारमा लगभग ६ वर्षदेखि व्यापार गर्दै आएका छन् । उनी भन्छन्, ‘हाम्रो व्यापार यस वर्ष राम्रो छ । हामीले ल्याएका सबै होलीका लुगाहरू विक्री भइसकेका छन् । नेपाली उत्पादनका लुगाहरूको बिक्री बढी भएको छ र ग्राहकहरूको रुचि पनि राम्रो देखिएको छ ।’
मनिष चौधरीका अनुसार, नेपाली उत्पादनहरू सस्तो र गुणस्तरीय भएका कारण ग्राहकहरूको मन जित्न सफल भएको बताए ।
‘नेपालमै बनेका लुगाहरू सस्तो पर्छ र ग्राहकहरू सस्तो नै खोज्न आउनुहुन्छ,’ उनी थप्छन्, ‘यस कारणले पनि होलीका कुर्ता र टिर्सटहरू राम्रो बिक्री भएका छन्, र सबै सामान छिट्टै बिकेका छन् ।’
पोहोरको तुलनामा यस वर्षको व्यापारमा आर्थिक संकट र बेरोजगारीका कारण केही कम देखिएको भए पनि स्थानीय उत्पादनहरूको बिक्रीमा सुधार आएको कुरा सकरात्मक संकेत हो ।