सुरक्षा/अपराध

रौतहट सशस्त्र प्रहरीले ५० दिनमा समात्यो ८५ लाखको अबैध सामान

२४ चैत्र २०८१, सोमबार ११:४५

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।

गत फागुन महिना देखी चैतको २२ गतेसम्म रौतहट तथा मातहतका यूनिटहरुबाट खटिएको गस्ती टोलीले तस्करीको माध्यमले भन्सार छली भित्र्याइएको उक्त मूल्य बराबरको भारतीय कपड़ा, किराना, हार्डवेयर लगायतका सामान बरामद गरेको हो। रौतहट बसाईको क्रममा सानो अवधीमा भएको उपलब्धि सन्तोषजनक रहेको एसपी बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न नाकाबाट अबैध रुपमा भित्रिएको ४५ लाख,८ हजार ८७५ बराबरको कपडा, किराना हार्डबेयर, लगायतका सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी बस्नेतले बताएका छन्।

त्यस्तै तस्करीको सामान ल्याउन प्रयोग गरिएको २४ थान मोटरसाईकल, ३ थान साईकल र ३ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको उनले जानकारी दिएका छन्। सोही अवधिमा स्रोत नखुलेको नेपाली ८ लाख ५९ हजार र भारु ३ लाख ७७ हजार ९०० रुपैया बरामद गरिएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

त्यसै गरी ५० दिनको अवधिमा भारततर्फ तस्करीको माध्यमले लैजान लागेको बिभिन्न ब्राण्डको ६६ कार्टुन मदिरा, ३ क्विन्टल ३७ किलो भारतीय कुखुरा, ६१ कार्टुन भारतीय अण्डा, ४० किलो भारतीय माछा, ६१ हजार बराबरको पटखा र २ लाख ७२ हजार बराबरको अबैध सालको काठ बरामद गरी सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको सूचनामा उल्लेख गरिएको छ।

सशस्त्र प्रहरी बल रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले पछी भारतीय सिमानासँग जोडिएको संवेदनशील क्षेत्रहरूका साथै अधिकांस भुभागमा, जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको स्थलगत निरीक्षण गरिएको एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।

भारतीय क्षेत्रसँग जोडिएको २८ किलोमीटर लामो खुला सिमानाको कारण जिल्लाबाट तस्करी पूर्ण रूपमा नियन्त्रण हुन कठिनाई भए पनि संस्थागत अथवा ठूलो परिमाणको तस्करी नियन्त्रण गरिएको एसपी बस्नेतले बताएका छन्।

तस्करी अथवा आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न प्रहरी एक्लैले चाहेर पनि सम्भव नभएकाले त्यस्तो गतिबिधि देखिएमा खबर गर्न उनले रौतहटबासीलाई आग्रह गरेका छन्।तस्करी, सीमाक्षेत्रमा हुने अबैध गतिविधि, लगायत आपराधिक क्रियाकलाप संग जोडिएको कुनै पनि सूचना दिने मानिसको नाम पूर्णतया गोप्य राखिने उनले विश्वास दिलाएका छन्

प्रतिक्रिया दिनुहोस्