राजनीनिती

खानेपानी मन्त्रालय र इसिमोडबीच समझदारी पत्रमा हस्ताक्षर

२८ चैत्र २०८१, शुक्रबार ०६:३७

 : खानेपानी मन्त्रालय र इसिमोडबीच खानेपानीका मुहान संरक्षण एवं पुन: भरण तथा रिचार्ज गर्ने विषयको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितीमा आज मन्त्रालयमा मन्त्रालयका सहसचिव ई मीना श्रेष्ठ तथा इसिमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले खानेपानी मन्त्रालय र इसिमोडबीचको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गर्नु भएको थियो ।
उक्त सम्झौतापत्रमा खानेपानीका मुहान संरक्षण एवं पुन: भरण तथा रिचार्ज गरी पानीको समस्या समाधान गरिने लगायतका बुदाहरु उल्लेख गरिएका छन् । हिमाल, पहाड तथा तराईका क्षेत्रहरूमा खानेपानीको स्रोतको असमान वितरण, शुद्ध खानेपानीको नियमित आपूर्तिको प्रबन्ध मिलाउनु, अव्यवस्थित बस्ती विकास तथा शहरीकरणले निम्त्याउने प्रदुषण नियन्त्रण तथा ढल व्यवस्थापनमा देखिएको जटिलता रहेको जनाइएको छ ।
यसैगरी मुलुक जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहनु, स्थानीय तहमा दक्ष जनशक्ति तथा उन्नत प्रविधिको कमी, स्रोत र बजेटको सिमितता र खानेपानी र सरसफाईको महत्वमा जनचेतना अभाव जस्ता समस्या तथा चुनौतीहरू रहेका जनाइएको थियो ।
सो कार्यक्रमका प्रमुख तिथी समेत रहनु भएका खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकारका २२ वटा मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले मुलुकमा खानेपानी आपूर्ति, सरसफाई र ढल व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निभाइरहेको बताउनु भएको थियो । मन्त्री यादवले मन्त्रालयले खानेपानी र सरसफाईसम्बन्धी नीति निर्माण, योजनाको कार्यान्वयन, अनुगमन मूल्याङ्कन र समन्वयको काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी मन्त्रालयले खानेपानी र सरसफाईसम्बन्धी नीति निर्माण, योजनाको कार्यान्वयन, अनुगमन मूल्याङ्कन र समन्वयको काम गरिरहेको छ । नागरिकलाई सुरक्षित पानी र सरसफाई प्रदान गर्न क्षेत्रीय, संस्थागत र अन्तर–निकाय समन्वय अपरिहार्य छ ।”
खानेपानी मन्त्रालय र इसिमोडले नेपालको पहाडी र तल्लो तटीय क्षेत्रका समुदायलाई सुरक्षित, दिगो र गुणस्तरीय पानी र सरसफाई सेवा प्रदान गर्नका लागि साझा उद्देश्य र लक्ष्य पहिचान गरेको समेत मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकार्यको माध्यमबाट अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता विकास र सूचनाको आदानप्रदानलाई प्रोत्साहित गर्न आवश्यक छ । यस सहकार्यले नेपालको पानी, सरसफाई र स्वच्छता क्षेत्रमा दीगो र प्रभावकारी विकास सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकलाई सुरक्षित पानी र सरसफाई प्रदान गर्नका लागि प्रमुख निकायहरूमा स्थानीय सरकार, गैरसरकारी संस्था, र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू, जस्तै संयुक्त राष्ट्र विकास कार्यक्रम, विश्व बैंक, एशियाली विकास बैंक आदि समावेश रहेका जानकारी दिनुभयो ।
सुरक्षित पानी र सरसफाई प्रदान गर्न खानेपानी मन्त्रालयले विभिन्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य बढाइरहेको तथा मन्त्रालयको कार्यक्षेत्रहरुमा खानेपानी र सरसफाई सेवा विस्तार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतन र भूकम्पका कारण सेता हिमालहरु काला भइरहेका छन् । तराई–मधेसको पानीको भूमिगत सतह खस्किदै गएको छ । पानीका मुहान सुक्दै गएकाले हामीलाई ठूलो चुनौँतीका रुपमा रहेको छ ।”
गत फागुन १९ गते नेपाल र भारत सरकारबीच पानी, सरसफाई र फोहोर व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको र यही चैत २२ गते खानेपानी र ऊर्जा मन्त्रालयबीच पानीको उपयोगका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको जानकारी समेत दिनुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले आज मन्त्रालय र इसिमोडबीच भएको सम्झौताले नेपालमा सुक्दै गएका पानीका मुलहरुलाई पुन: जिवित गरी जनतालाई खुवाउन सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नभयो, “मन्त्रालय र इसिमोडबीचको सम्झौताले पानीका सुक्दै गएका मुलहरुलाई रिचार्ज गरी आगामी पुस्ताहरु सम्मलाई पुग्ने गरी पानीको व्यवस्था गर्न धेरै सकारात्मक काम गर्ने छ । छिट्टै नै हामीले सोचे अनुसारको हाम्रो उदेश्य पुरा हुने छ ।”
मन्त्रालयका सहसचिव ई मीना श्रेष्ठ तथा इसिमोडमा महानिर्देशक डा पेमा ग्याम्त्सोले खानेपानी मन्त्रालय र इसिमोडबीचको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर सहित आदान प्रदान गर्नु गरिएको थियो । आजको उक्त कार्यक्रमा मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायत इसिमोट र मन्त्रालयका कर्मचारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्