खेलकुद

युरो छनोटमा पोर्चुगलको सानदार जित

१३ चैत्र २०७९, सोमबार ०२:१३

काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ।

युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६-० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १-१ गोल गरे।

खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। १५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता तेब्बर पारे।

खेलको ३१ औं मिनेटमा अल नासरका फरवार्डसमेत रहेका रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफ टाइममा टोलीलाई ४-० को अग्रता दिलाए। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र राफेल लिओले १-१ गोल गर्दै लक्जमबर्गको पोष्टमा आधा दर्जन गोल पुर्‍याए।

यो सँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूआती दुई खेल जितेर समूह जे को शीर्ष स्थानमा छ। बिहीबार लिकटेन्स्टाइन विरुद्ध पनि दुई गोल गरेका रोनाल्डोले युरोपियन च्याम्पियनसिप छनोटमा पोर्चुगलका लागि ३७ खेलबाट सर्वाधिक ३५ गोल गरे। एजेन्सी

प्रतिक्रिया दिनुहोस्