हिमालय प्रेस
बुढीगंगा नगरपालिका(१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा आधारभूत आश्यकता पूरा गर्नुपर्ने स्थानीयले माग गरेका छन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीविकामा आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्नुपर्ने माग राखेका छन् ।
वडा कार्यालयको केन्द्र धुरालसैनमा आयोजना गरिएको कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन नगर सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ ।
पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । १० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ ।
वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।
सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । कालोपत्रे भइरहेको सडकलाई गति दिन र सबै बस्तीलाई सडक सञ्जालमा जोड्न पनि सुझाव सहभागीले दिएका छन् ।
वडाले किसानका बारी, प्राविधिकको छहारी सहित उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि अघि बढाइरहेको छ ।
नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् ।
वडा सचिव लोकेश रोकायाले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, पार्टी प्रतिनिधि पत्रकार लगायतको सहभागीता रहेको थियो ।