समाज

नेपाली युवाहरूको विदेशप्रतिको मोह : सपना कि विवशता

१७ बैशाख २०८२, बुधबार ०८:४३

सन्तोषी रावल ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबमा दैनिकजसो देखिने दृश्य हो—विदेशी उडानका लागि लाम लागेका नेपाली युवाहरू, हातमा पासपोर्ट र झोला, मनमा अनेकौं सपना र आशंका। विदेश जाने लहर अहिले पनि घटेको छैन, बरु दिनप्रतिदिन बढ्दो छ।

देशका कुनाकाप्चाबाट आएका ती युवा, आफ्नो जीवनको आधार खोज्दै, बिदेसिन्छन्—कसैले दुबई, कतार, कोरिया, मलेसिया त कसैले युरोप र अमेरिका पुग्ने आशामा। तर, यो सपना मात्र होइन, उनीहरूका लागि एक विवशता पनि हो। कसैको आमा–बुवा बिरामी छन्, कसैको जीवनसङ्गिनी र नाबालक बच्चा घरमै छन्। तर रोजगारीको अभावले गर्दा आफ्नो परिवार छोडेर जानु पर्ने बाध्यता अझै घटेको छैन।

देशमै अवसर नहुँदाको परिणाम
नेपालमा औद्योगिकीकरणको सुस्त गतिले, कृषि र पर्यटन जस्ता क्षेत्रहरूमा संरचनागत लगानीको अभावले, दक्ष जनशक्तिहरू समेत विदेश पलायन हुँदैछन्। शिक्षित युवाहरू समेत रोजगारी नपाएर विदेशिन विवश छन्।

यसले नेपाली समाजमा गहिरो असर पारिरहेको छ। वृद्ध बाबुआमाको हेरचाह गर्ने कोही छैन, वैदेशिक काममा गएका श्रीमानले पठाएको पैसाले घर चले पनि आत्मीयता हराउँदैछ। नेपालीले नेपाली बनेर बाँच्न गाह्रो भइसकेको छ । ‘नेपालीले नेपालीको पीडा बुझ्ने हो भने यति धेरै युवाहरू विदेशिनु पर्ने थिएन’, भन्दै धेरै समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारद्वारा ठोस दीर्घकालीन नीति निर्माणको अभावमा समस्या झनै बढ्दो छ ।
आजको आवश्यकता भनेको देशमै सम्भावनाको सिर्जना हो, जसले युवाहरूको विदेश मोहलाई सपना नभई विकल्प बनाओस्—र विवशता अन्त्य होस ।
शुभ विहानी

प्रतिक्रिया दिनुहोस्