काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पतालको उच्च स्रोतले जनाएको छ । उनी ७१ वर्षका थिए ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए ।
पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट लामो समयदेखि निष्क्रिय बनेका थिए । २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए । त्यसपछि शिक्षा मन्त्री भएका थिए ।