खेलकुद

बेल्जियमको लगातार दोस्रो जीत

१५ चैत्र २०७९, बुधबार ०५:३२

बर्लिन। जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ।

मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो। यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो ।पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो। केभिन डी ब्रुयनाको पासमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा निक्लास फुलक्रुगले पेनाल्टीबाट एक गोल फर्काए ।

दोस्रो हाफको ७८ औँ मिनेटमा डी ब्रुयनाले पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन क्लब र देशका लागि उनको नवौँ गोल थियो । ८७ औँ मिनेटमा सर्जी ग्नाब्रीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्