सन्तोषी रावल
बाजुराको बुढीगंगा नगरपालिका–५ मा अवस्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई लक्षित गर्दै जन्मदेखि मृत्युसम्म राहत कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
संस्थाले २०८२ वैशाख १ गतेदेखि लागू गरेको सो कार्यक्रमअन्तर्गत सुत्केरी भेटघाट तथा नवजात शिशुको मुख हेर्ने कार्यमा प्रतिव्यक्ति चार हजार रुपैयाँ, सदस्यको मृत्युमा चार हजार रुपैयाँ, सदस्यका घरपरिवारका अन्य सदस्यको मृत्युमा दुई हजार रुपैयाँ, र विपद् प्रभावित परिवारलाई एक हजार रुपैयाँ राहत उपलब्ध गराउने जनाएको छ ।
वि.सं. २०६४ मा स्थापना भएको सहकारीमा हाल १,७७२ जना शेयर सदस्य रहेका छन्। तीमध्ये १,०४१ महिला, ७०१ पुरुष तथा ३० संस्थागत सदस्य रहेका छन् ।
संस्थाको हालसम्मको कुल शेयर पुँजी ८५ लाख १७ हजार रुपैयाँ रहेको छ भने कुल निक्षेप ४ करोड १४ लाख रुपैयाँ र ऋण लगानी ६ करोड रुपैयाँ पुगेको सहकारीले जनाएको छ ।
संस्थाले विभिन्न बचत योजना, सहुलियत ब्याजदरमा ऋण, भैसी तथा बाख्रा वितरण,तथा कक्षा नर्सरी देखी कक्षा ५ सम्म(संस्थागत विद्यालय) बोर्डिङ स्कुल सञ्चालनमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने प्रयास गरिरहेको सूचना अधिकारी बासुदेव जैशीले जानकारी दिए ।
उनका अनुसार सहकारी हाल ३५ लाख बराबरमा नाफामा रहेको छ र सेवा तथा पारदर्शितालाई प्राथमिकता दिँदै आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको छ ।