काठमाडौं, २५ जेठ । फिफा विश्वकप युरोपियन छनोटमा इङ्ल्यान्डको आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
स्पेनको आरसिडिइ रंगशालामा इङ्ल्यान्डले शनिवार भएको खेलमा एन्डोरामाथि १–० को कठिन जित निकालेर तेस्रो खेलमा पनि जीत हासिल गरेको हो ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको इङ्ल्यान्ड समूह ‘के’ को शीर्ष स्थानमा छ । तीन खेलमा पराजित एन्डोरा अंकविहिन अवस्थामा छ ।
खेलको ५०औं मिनेटमा कप्तान ह्यारी केनले गरेको एकमात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो । उनले नोनी माडुकेले उपलब्ध गराएको बललाई पोस्टमा दिशा दिन सफल भए ।
खेलपछि इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले टोलीको प्रदर्शनबाट खुसी नरहेको प्रतिक्रिया दिए । ‘म टोलीको प्रदर्शनबाट खुसी छैन । हामीले खेलको लय पूर्ण रूपमा गुमायौं । अन्त्यतिर खेलाडीमा कुनै उर्जा देखिएको थिएन,’ टुचेलले भने,‘ हामीले स्विकार्नै पर्छ, यो हाम्रो स्तर अनुसारको प्रदर्शन होइन ।