Flash News

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि(तस्बिरसहित)

१७ चैत्र २०७९, शुक्रबार १४:२९

काठमाडौँ। नेपाली फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले लाओसलाई २-२ गोलको अन्तरमा पराजित गरेको हो। खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए।

यसअघि १७औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ। बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन्।

तर, २४औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। एरिक विष्टले मिलार्इ दिएको पासमा बक्सभित्रबाट आयुश घलानले गोल गरेका थिए। खेलको ७४औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो।भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ। आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन्।

फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए। नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।

तस्बिरहरू

 

तस्बिरः मुकुन्द कालिकोटे र प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्