Flash News

चुनावमा हारजित भइरहन्छ हिम्मत हार्नुहुँदैन: माधव नेपाल

१४ माघ २०७९, शनिबार १४:४७

सप्तरी। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताएका छन्।

राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए।

‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ’, नेपालले भने। भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस आइ अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कांग्रेस आइले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए।

उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए।

प्रतिक्रिया दिनुहोस्