अर्थतन्त्र

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

९ असार २०८२, सोमबार ०९:२१

बलेवा (बागलुङ), ९ असारः जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ । सत्रौँ नगरसभा तथा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गर्नुभएको छ ।

बाँदरकै कारण किसानले बस्ती छाडेर हिँंडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ । वन ऐन, वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ । बाँदरलाई सङ्घ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।

किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दुग्धजन्य परिकारलाई मूल्य शृङ्खलामा जोडेर बन्द रहेका फार्म पनि सञ्चालनमा प्रोत्साहन गरिने भएको हो । त्यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो ।

कृषि क्षेत्रमा आर्कषण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाइ सूचीकरण गरेर परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाइने नररप्रमुखको नीतिमा उल्लेख छ । सेरा जाऔँ केरा खाऔँको निरन्तरतासहित सुन्तला पकेट, बाख्रा जोनलगायत कार्यक्रम सञ्चालन गर्ने पनि नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनको भनाइ छ ।

किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँदा समावेश छन् । यसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी बनाउने जैमिनीको योजना छ ।

गत वर्ष नै सुरु गर्ने भनिएको कृषि एमबुलेन्स सञ्चालन गर्ने नीतिसमेत आएको छ । उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, पशुलाई खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनलाई बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको हो ।

परम्परागत बालीको उत्पादन बढाउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरोलगायत उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ । शिक्षाको गुणस्तर बढाउन लिड स्कुलमार्फत पढाइ सञ्चालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेलीउद्धार गर्न सबै वडामा हेलिप्याड बनाउने भएको हो । दश वडा रहेको जैमिनीमा अघिल्लो वर्ष नै तीनवटा वडामा पक्की हेलिप्याड बनाइएको छ ।

छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति पनि नगरले ल्याएको छ । बजेटमा सुनिश्चितता गरेर उक्त नीति ल्याएको नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो । नीतिमा १३ दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गरिने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्