खेलकुद

बार्सालाई हराउँदै रियल फाइनलमा

२३ चैत्र २०७९, बिहीबार ०२:२३

क्याम्प नाउ। करिम बेन्जेमाले दोस्रो हाफ गरेको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा १–० ले पराजित रियलले बार्सालाई उसैको घरेलु मैदानमा ४–० ले पराजित गर्दै समग्रमा ४–१ को जीत हासिल गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बिराम लगाएको छ । अब मे ६ मा हुने फाइनलमा रियलले ओसासुनाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्