बागमती प्रदेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

२१ श्रावण २०८२, मंगलवार १५:३१

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको हो ।

यस अघि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको आह्वान गरेलगत्तै बानियाँले सोमबार दाबी पेस गरेका थिए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख समक्ष बुझाउँदै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरिएको थियो ।

बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन आफूलाई रहेको दाबी गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठन गर्न ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । बानियाँले आजै शपथ तथा पदभार ग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्