काठमाडौं, २१ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–१५ बस्ने म्याग्दी मंगला गाउँपालिका–४ घर भएका ३६ वर्षीय नरबहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका–२ बस्ने पाँचथर फिदिम नगरपालिका–१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रकाउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरबहादुरलाई काठमाडौं महानगरपालिका–११ बाट र उमेशलाई टोखा नगरपालिका२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।