समाज

फतुवा बिजयपुरमा कार्यवाहक मेयर र हाकिमको मिलोमतो, करोडौं अनियमितताको आशंका

२६ श्रावण २०८२, आईतवार १३:३२

रौतहट, २५ साउन । फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलोमतोमा करोडौं रुपैयाँको भ्रष्टाचार भएको खुलासा भएको छ।

विभिन्न स्रोत र कागजातका आधारमा देखिएको तथ्यले दुबै जनाले पदको दुरुपयोग गर्दै नियमविपरीत निर्णय, गैरकानूनी नियुक्ति र बजेट दुरुपयोगमार्फत ठूलो आर्थिक हिनामिना गरेको पुष्टि भएको हो ।

गत आव २०८१÷०८२ मा योजना प्रमुख बिल्लुराय यादवलाई हटाई, कार्यालय सहयोगी रामशंकर यादवलाई सहायक कम्प्युटर अपरेटर पदमा पुनः नियुक्त गर्दै रातारात योजना शाखा प्रमुखको जिम्मा दिइयो। यो नियुक्ति बिना कुनै औपचारिक प्रक्रिया गरिएको हो। यस कदमले सम्पूर्ण योजना शाखाको बजेट तहसनहस भएको फतुवा बिजयपुर–१ का समाजसेवी अवधेशकुमार यादवले बताए ।

कार्यालयमा कार्यरत आधिकारिक ड्राइभर हुँदा–हुँदै अतिरिक्त ड्राइभर र ७० वर्षीय बृद्ध बद्री थापा, स्वास्थ्यकर्मी परमेश्वर यादवसहित ४–५ जनालाई गैरआवश्यक रूपमा नियुक्ति दिइएको समाजसेवी यादवले जानकारी दिए। यसले सरकारी गाडीमा अनावश्यक यात्रा तथा बारम्बारको प्रयोग, खाना–खाजा भत्ता र तलव भुक्तानीमार्फत नगरपालिकालाई थप आर्थिक बोझ पुर्‍याएको छ।

योजनाबाहेक दैनिक ४० किलोमिटर गाडी चलाइने, साथै आफ्नो निजी गाडी र बारा जिल्लाका गाडीहरूलाई समेत दैनिक १००–२०० लिटर पेट्रोल डिजल कुपन वितरण गरिएको तथ्य फेला परेको फतुवा बिजयपुर–२ निवासी अवकास प्राप्त नेपाल प्रहरीका सई रामानन्द यादवले दाबी गरेका छन्।

इ बिल्डिङ्गका लागि पहिलाको सप्लायरबाट औषधि खरिद गर्दा नियम विपरीत मूल्यवृद्धि गरिएको छ। टेन्डर प्रक्रियामा बचत भएको ७१ लाख रुपैयाँलाई पुनः त्यही सप्लायरबाट औषधि र सेनेट्री पेड खरिद गरि अनावश्यक रूपमा खर्च बढाइएको पूर्व सई यादवको भनाई छ।

पूर्व सई यादवका अनुसार फतुवा बिजयपुर नगरपालिकामा हालसम्म आएका प्रमुख प्रशासकीय अधिकृतमध्ये सबैभन्दा बढी भ्रष्ट भरत यादव रहेको उनको आरोप रहेको छ । फतुवा बिजयपुरको हाकिम भएर यादवले कावा मेयर खातुनको मिलोमतोमा प्रायः अधिकांस कार्यक्रम बाराको निजगढ, सिमरा, कलैयामा सञ्चालन गर्दै आएका छन्। बिभिन्न चेतनामूलक कार्यक्रमको नाउँमा बाराका तीनवटा एनजिओलाई १ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको पूर्व सई यादवले बताए ।

यस सम्बन्धी प्रतिक्रिया लिन प्रशाशकीय यादवलाई फोन गरेर सोध्दा होईन केही मानिसलाई करारमा होईन्, दैनिक ज्यालादारीमा राखेको स्वीकार गरेका छन्। उनले अन्य आरोपको खण्डन गर्दै ‘आउनुस न बसेर कुरा गरौंला, किन रिसाउनु भएको छ ?’ भन्दै पन्छिएका छन्।

त्यस्तै कावा मेयर खातुनले सम्पूर्ण आरोपको खण्डन गर्दै आफू बिरुद्द षड्यन्त्र भइरहेको प्रतिक्रिया दिएकी छिन्।

२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा बिजयपुर नगरपालिकामा मेयर पदमा गोपालप्रसाद यादव, उपमेयरमा अम्बेया खातुन सहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए। २०७० सालमा बिशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गुमे सँगै उपमेयर खातुनले कार्यवाहक मेयरको जिम्मेवारीमा पाए पछी नगरपालिकामा चौतर्फी बेथिती देखिएको छ। कार्यवाहक मेयर खातुन बजेट भागबण्डामा अल्झिने गरेको कारण समयमा नगरसभासमेत हुँदैन् ।

यो प्रकरणले फतुवा बिजयपुर नगरपालिकामा सुशासन र पारदर्शिताको अभाव देखाएको स्थानियको भनाई रहेको  छ। नियमविपरीत नियुक्ति, सरकारी सम्पत्तिको निजी प्रयोग, बजेट दुरुपयोग र टेन्डर प्रक्रियामा हेरफेरजस्ता कार्यहरूले भ्रष्टाचारको गहिरो जाल रहेको संकेत गरेको जनाइएको छ ।

स्थानीय तहमा यस्तो किसिमको मिलोमतोले योजनाहरूको गुणस्तर र जनताको विकास–आशालाई ठुलो क्षति पुर्‍याउने मात्र होइन, सरकारी स्रोतको दुरुपयोग मार्फत आर्थिक अनुशासनमा गम्भीर आघात पुर्‍याउँने गरेको स्थानिय बिजय यादवले जनाए ।

यस मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायले छानबिन गरी कारबाही नगरेसम्म स्थानीय तहमा यस्ता घटना दोहोरिन सक्ने खतरा उच्च रहने देखिने स्थानियको भनाई छ ।

गत असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुन सकेको छैन्। चारदिन अघी आएको मन्त्रालयको टोलीले फतुवा बिजयपुर नगरपालिकाका सबै जनप्रतिनिधिलाई बैठक राखेर छलफल गराउँदा आगामी ३० गते नगरसभा हुने सहमति भएको थियो। तर, बजेटकै भागबण्डाको बिषय लिएर पटक पटक अड्किने नगरसभा आगामी ३० गते सफल हुन्छ कि हुँदैन् ? हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्