काठमाडौँ। निकोलस पुरनले जारी सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा छिटो १५ बलमै अर्धतशक हानेको खेलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ।
मार्कोस स्टोइनिस र पुरनको आक्रमक अर्धशतक मद्दतमा लखनउले बेंगलोरले दिएको २१३ रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । बेंगलोरका टप अर्डरका तीन खेलाडीले अर्धशतक प्रहार गरेपनि जितका लागि काम लागेन ।
१५ बलमै अर्धशतक प्रहार गरेका पुरनले १९ बल खेल्दै ६२ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मार्कुस स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ६५ रन बनाए ।
ठूलो लक्ष्य पछ्याउने क्रममा लखनउले २३ रनमै तीन विकेट गुमाएको थियो । तर स्टोइनिसले कप्तान केएल राहुलसँग ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । राहुले १८ रन जोडे । राहुल र स्टोइनिस आउट भएपछि पुरनेल सानदार ब्याटिङ गरे । पुरनले छैटौं विकेटका लागि आयुस बदोनीसँग ८४ रनको साझेदारी गरे । बदोनीले १९औं ओभरमा हिट विकेट हुनुअघि २४ बलमा चार चौका प्रहार गरी ३० रन बनाए ।
नाटकीय बनेको अन्तिम ओभरमा लखनउलाई जितका लागि पाँच रन चाहिएको थियो भने तीन विकेट बाँकी थियो । तर, अन्तिम ओभरमा दुई विकेट गुमाएपछि लखनउले अन्तिम बलमा एक रन जोड्दै खेल जितेको हो । बलिङमा बेंगलोरका मोहम्मद सिराज र वायने पार्नेलले तीन/तीन तथा हर्शल पटेलले दुई विकेट लिए ।
त्यसअघि घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २१२ रन बनाएको थियो । उसका कप्तान फाफ डु प्लेसिस,विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशत बनाए । ओपनर कप्तान डु प्लेसिसले ४६ बलमा पाँच चौका र पाँच छक्काको मदतमा अविजित रहँदै सर्वाधिक ७९ रन बनाए ।
पहिलो विकेटका लागि डु प्लेसिसले विराट कोहलीसँग ९६ रनको साझेदारी गरेका थिए । कोहलीले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरी ६१ रन बनाए ।
कोहली आउट भएपछि म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै दुई सय स्कोर कटाउन मद्दत गरे । म्याक्सवेलले २९ बलमा तीन चौका र ६ छक्का प्रहार गरी ५९ रन बनाए । कप्तान डु प्देसिस र म्याक्सवेलले दोस्रो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे ।
लखनउका लागि मार्क वुड र अमित मिश्राले समान एक/एक विकेट लिए । यस सिजन तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै लखनउ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको बेंगलोर तीन खेलबाट दुई अंकसहित सातौं स्थानमा छ ।