काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ५ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको ३३१ रनको लक्ष्य पछाएको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इङल्याण्डका लागि जो रुट र जोस बटलरले ६१-६१ रन बनाएका थिए । त्यस्तै जाकोब बेथवेलले ५८, विल ज्याकले ३९ र कप्तान ह्यारी ब्रूकले ३३ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रीकाका बलर नान्द्रे बर्गरले ३ विकेट लिएका थिए भने केशव महाराजले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउदै ३३० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि म्याथ्यू ब्रिट्ज्केले सर्बाधिक ८५ रन बनाएका थिए भने ट्रिस्टन स्टब्सले ५८, एडेन मार्क्रमले ४९, डेवाल्ड ब्रेभिसले ४२ रन बनाएका थिए ।त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चरले सर्बाधिक ४ विकेट लिएका थिए भने आदील राशिदले २ विकेट लिएका थिए ।
यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा लगातार दुई खेल जितेर सिरिज पनि जितेको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।