जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।
मंगलबार जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु असह्य पीडा र गहिरो दुःखको विषय बनेको भन्दै नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिमा जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै उनले भनेका छन्-
देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।
संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै, समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य हो भन्ने मेरो दृढ विश्वास कायम रहनेछ ।
म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकामा जनमत पार्टीका श्रदेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यू सहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु ।