काठमाडौँ । इजरायली सेनाले यमनमा हवाई आक्रमण गरेको छ । धेरैजसो आक्रमणहरू इरान समर्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा गरिएको थियो । यी आक्रमणहरूमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका थिए । एक दिनअघि इजरायलले कतारको राजधानी दोहामा आक्रमण गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो आक्रमण दक्षिणी इजरायलको विमानस्थलमा हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएका थिए । उनले भने- ‘जसले हामीमाथि आक्रमण गर्छ, हामी उसलाई छोड्ने छैनौं । हामीले उनीहरूको आतंकवादी अड्डा र सुविधाहरूलाई लक्षित गरेका छौं ।’
हुथी विद्रोहीहरूले विगत एक दशकदेखि यमनको राजधानी साना र उत्तरी क्षेत्रहरू नियन्त्रण गरिरहेका छन् । अक्टोबर १८ मा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजा युद्धको समर्थनमा हुथी विद्रोहीहरूले इजरायल र लाल सागरमा जहाजहरूमा मिसाइल र ड्रोन आक्रमण गरेका थिए ।
हुथीहरूले यो हमाससँग ऐक्यबद्धता देखाउनको लागि भएको बताएका छन् । जवाफमा इजरायलले धेरै पटक हुथी अड्डाहरूमा बमबारी गरेको छ । इजरायली सेनाले यसको लडाकु विमानहरूले यमनको उत्तरी अल-जवफ प्रान्त र सानामा रहेका सैन्य शिविरहरू, हुथी सूचना विभाग कार्यालयहरू र इन्धन भण्डारण स्थलहरूलाई निशाना बनाएका छन्।
हुथी सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल-मशातले इजरायलको आक्रमणको जवाफ दिने बताए। उनले यसलाई ‘क्रूर यहूदी आक्रमण’ भने ।
गत महिना, इजरायलले यमनमा हुथी मन्त्रिपरिषद्को बैठकमा आक्रमण गर्यो, जसमा हुथी प्रधानमन्त्री अहमद अल-राहवी र अन्य धेरै अधिकारीहरूको मृत्यु भयो। यद्यपि, हुथी संगठनको वास्तविक नियन्त्रण यसको संस्थापक अब्दुल मलिक अल-हुथीको हातमा छ ।
इजरायलले हालैका महिनाहरूमा यस क्षेत्रमा आफ्ना शत्रुहरू विरुद्ध आक्रामक अडान लिएको छ। गाजामा दुई वर्ष लामो युद्धको अतिरिक्त, इजरायलले लेबनानमा हिजबुल्लाह र सिरियाका धेरै लक्ष्यहरूमा आक्रमण गरेको छ ।