काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति सारिएको छ । जेनजी आन्दोलनका कारण फिल्म अब भाइटिकामा रिलिज हुने भएको छ । यसअघि जारी-२ असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने भनिएको थियो ।
सिनेमाको निर्माण टिमले २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ।
सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन्। सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
कवि सुब्बाको डेव्यु निर्देशकीय फिल्म जारी २०८० सालको सुपरहिट फिल्म हो । जारीले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी कमाई गरेको थियो ।