काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।
सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् । यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए ।
खराब सुरुवातपछि कुशलको शतक
घरेलु मैदानमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन ।
कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
त्यसपछि भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे ।
रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए । त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे ।
भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।
कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मद्दतमा १०८ रन बनाए । ७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए ।
दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।
सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।