
मुगु । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका विद्यालयमा बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यले सुरु गरेको ‘स्कूल फुटबल कार्यक्रम’अन्तर्गत जुम्लामा पनि कार्यक्रमको शुभारम्भ गरिएको छ ।
फिफाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत एन्फा केन्द्रीय अध्यक्ष पंकज विक्रम नेवाङले जुम्लाका २५ विद्यालयलाई २०÷२० वटा फुटबल वितरण गरे ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेवाङले विद्यालय तहदेखि नै बालबालिकामा फुटबल सिकाउने अभियानले देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
‘खेल मानिसको सर्वाङ्गीण विकासका लागि आवश्यक हुन्छ, त्यसैले विद्यालय तहदेखि नै फुटबल सिकाउने कार्यक्रम सुरु गरेका हौं,’ उनले भने ।
अध्यक्ष नेवाङका अनुसार यो कार्यक्रम विश्वभर सञ्चालनमा रहेको छ र नेपालमा यसलाई शिक्षा मन्त्रालय तथा खेलकुद मन्त्रालयको सहकार्यमा अघि बढाइँदैछ । उनले जुम्लामा निर्माणाधीन रंगशालाको काम छिट्टै सम्पन्न गर्न संघीय र स्थानीय सरकारलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले एन्फाले कर्णालीमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएकोमा धन्यवाद दिइन् ।
त्यसैगरी, एन्फा जुम्लाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भरतबहादुर बुढाथापाले बालबालिकालाई सानै उमेरदेखि फुटबल सिकाउने कार्यक्रम ल्याएकोमा फिफा र एन्फाप्रति आभार व्यक्त गरे ।
उनले जुम्लामा निर्माणाधीन रंगशालाको काम ढिलो भइरहेको उल्लेख गर्दै छिटो सम्पन्न गर्न सरोकारवालाहरूसँग आग्रह गरे । उनका अनुसार राज्यले खेल क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिँदा समस्या आएको छ ।
जुम्लामा आयोजित उक्त ग्रासरुट स्तरको विद्यालय फुटबल कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेवाङ, उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्य मनिराज बिष्ट, सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष दिलिप बस्याल लगायतको टोली सहभागी भएको थियो।
एन्फाले आगामी दिनमा देशभरका विद्यालयमा फुटबलको पहुँच विस्तार गरी नयाँ प्रतिभा पहिचान गर्ने लक्ष्य लिएको जनाएको छ ।