
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका कृषक समुहलाई कृषि मेसिनरी सामाग्री वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच यहाँका कुषक समूहहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।
रेरास परियोजना अन्तर्गत ली–बर्डले जगन्नाथ र स्वामिकार्तिकका कृषक समूहहरूलाई १७ वटा कृषि मेसिनरी सामाग्री वितरण गरेको हो ।
कृषि उत्पादनमा ऊर्जा प्रयोगलाई प्रवद्र्धन गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ तथा सक्षम बनाउन सहयोग पुगेस् भन्ने उदेश्यका साथ कृषि मेसिनरी सामाग्री वितरण गरिएको बताईएको छ ।
जगन्नाथमा वितरण मेसिनरी सामाग्रीहरुमा धान, गहुँ र कोदोका लागि ६ वटा विद्युतिय मल्टीक्रप थ्रेसर र १ वटा विद्युतिय कम्बाइन राइस मिल छन् । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामा ६ वटा विद्युतिय मल्टीक्रप थ्रेसर, २ वटा पिसानी मिल र २ वटा कम्बाइन राइस मिल रहेका छन् ।
रेरास परियोजनाले ८० प्रतिशत आफ्नो लागतको अनुदान उपलब्ध गराई कृषकहरूका लागि मेसेनरी सामग्री उपलब्ध गराएको हो । सामाग्री वितरणका साथै, कृषक समूहका मेसिनरी अपरेटरहरूलाई मेसिन फिटिंग, सञ्चालन र मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम पनि प्रदान गरिएको ली–बर्ड बाजुराका कलष्टर संयोजक लोकेश कुमार थापाले बताए ।
तालिमले मेसिनको दक्षतापूर्वक प्रयोगमा महत्त्वपूर्ण सहयोग पुर्याउने भएको छ । सामाग्रीहरुले काम छिटो छरितो, श्रमिक बोझमा कमी, समयको बचत र उत्पादनशिलतामा बढवा दिने अपेक्षा गरिएको छ । शाही नर्वेजियन राजदुतावास र यू–एन–डि–पि को आर्थिक सहयोग र ली–बर्डद्वारा सञ्चालित कृषि खाद्य प्रणालीको लागि नविकरणीय उर्जा रेरास परियोजनाको सहयोगमा सामाग्रि सहयोग गरिएको हो ।
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायले सामाग्री वितरणले कृषि क्षेत्रमा ठुलो सहयोग पुग्ने बताएका छन् । सामाग्री वितरण कार्यक्रममा कार्य व्यस्तताले उपस्थित हुन नसके पनि उनले सहयोगीलाई धन्यवाद सहित कृषि सामाग्रि प्राप्त गर्ने कृषकहरूलाई साधनको सही सदुपयोग गरी कृषि कार्यमा प्रयोग गर्न आग्रह गरेका छन् ।