
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित विरे झरना पछिल्ला वर्षमा पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ । विशेषगरी बर्खाको समयमा झरनाको पानीको प्रवाह बढ्ने भएकाले दैनिक तीन सयको हाराहारीमा मानिसहरू घुम्न आउने गरेका छन् ।
सुन्दर र हरियाली वातावरण, उँचाइबाट झर्ने चामत्कारिक झरना र चिसो पानीको रमणले जोकोहीको मन लोभ्याउने विरे झरना बाजुराको चर्चित गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । यहाँ पुग्ने धेरैजना पर्यटकले झरनाको पृष्ठभूमिमा फोटो र भिडियो खिच्ने, रमाइलो गर्ने तथा स्थानीयस्तरमा कार्यक्रम आयोजना गर्ने गर्छन् ।
विरे झरनामा प्रवेश गर्नका लागि प्रवेशद्वारमा रु २० को टिकट काट्नुपर्छ, जसले स्थानीय आयस्रोतमा स–साना रूपमा भए पनि योगदान पु¥याएको छ ।
टिकट काउन्टरमा कार्यरत ललिता साँउदका अनुसार, बर्खामा धेरै मानिस आउँछन् तर हिउँदमा तुलनात्मक रूपमा कम आउने गर्छन् । कतिपय मानिसले रु २० मा खुशी मान्छन्, कोही व्यवस्थापनको कमीका कारण असन्तुष्ट पनि हुन्छन् । उनका अनुसार झरनामा आउनेहरूको संख्याले स्थानीय होटल र अटो चालकको व्यवसाय पनि बढाएको छ । बाजुराको सदरमुकाम बजारबाट अटोमा करिब २० मिनेटको दूरीमा पुगिने झरनामा दैनिक रूपमा स्थानीय र बाहिरी जिल्लाबाट आगन्तुकहरूको आगमन हुने गर्छ ।
झरनाको सौन्दर्यले स्थानीय तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ । काठमाडौंमा अध्ययनरत मनिषा रावल दशैं–तिहारको अवसरमा घर फर्किंदा झरना पुगेकी थिइन् ।
उनले भनिन्, ‘अरूले फोटो र भिडियो हालेको देखेर कहिले जाने होला भन्ने रहर थियो, अहिले आएर त्यो धोका पूरा भयो ।’
त्यस्तै, धनगढीकी मञ्जु रावल माइत आउँदा झरना पुग्न पाउँदा खुशी भइन् । उनले भनिन्, ‘विरे झरनाले निकै मन लोभ्यायो, माइती आउँदा झरना जाने मेरो धोका थियो र पूरा भयो ।’ स्थानीय अस्मिता रोकाया भन्छिन्, ‘म तीनपटक आइसकेकी छु, जति पटक आएकी छु, त्यति पटक रमाइलो लागेको छ ।’
विरे झरनाले बाजुरा जिल्लाको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । घुम्न आउने मानिसहरूले स्थानीय अटो सेवा प्रयोग गर्छन्, होटलमा खाजा नास्ता गर्छन् र यसले स्थानीय व्यापारीहरूलाई फाइदा पु¥याएको छ ।
अटो चालकहरू भन्छन्, ‘झरनाले नै हाम्रो रोजगारी जोगाएको छ ।’ बर्खामा झरना हेर्न आउनेको चाप अत्यधिक हुन्छ, जसले यहाँको स–साना व्यवसायलाई चलायमान बनाएको छ । यसले जिल्लाभित्रै रोजगारी सिर्जना गरेको र युवालाई स्वदेशमै केही गर्न प्रेरित गरेको स्थानीयहरूको भनाइ छ ।
झरना प्रवेश गर्दा उठाउने शुल्कले झरना क्षेत्र थप व्यवस्थापन गर्न सकिने बताइएको छ । विरे खोला झरना व्यवस्थापन कार्यविधि २०७८ मा लागू पनि भएको छ ।
तर, सुन्दर र सम्भावनायुक्त झरनामा व्यवस्थापनको कमी रहेको स्थानीयहरूको गुनासो छ । झरनाको वरिपरि फोहर व्यवस्थापन, बत्ती, विश्रामस्थल, शौचालय र सुरक्षा व्यवस्था कमजोर छन् ।
टिकटबाट उठेको रकमले उचित संरचना निर्माण नभएकाले आगन्तुकहरू असन्तुष्ट हुने गरेका छन् । ललिता साँउद भन्छिन्, ‘यदि स्थानीय तहले झरना परिसर व्यवस्थित बनाइदिएको भए, पर्यटकहरूको गुनासो रहँदैनथ्यो र आर्थिक रूपमा पनि थप फाइदा हुने थियो ।’
स्थानीयहरूका अनुसार झरनामा आवश्यक पूर्वाधार र व्यवस्थापन भएमा यसले जिल्लाको पर्यटन विकासमा ठूलो योगदान दिन सक्छ । प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीय आतिथ्यले भरिएको यो स्थानलाई व्यवस्थित रूपमा विकास गर्न सकेमा झरना केवल बाजुराको गर्व होइन, देशकै परिचित पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।
स्थानीय सरकार र सम्बन्धित निकायले सडक, सरसफाइ, विश्रामस्थल र सूचना बोर्डको व्यवस्था गरी यो गन्तव्यलाई दिगो रूपमा प्रवद्र्धन गर्नुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन् ।