समाज

मेरो देश, मेरो जिम्मेवारी भन्ने मूल नारासहित सदाचार र सुशासनको प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रव्यापी अभियान सुरु

११ मंसिर २०८२, बुधबार १९:३८

काठमाडौं, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोकबहादुर चोयडाले मंसिर २५ गतेदेखि लिएर पुस १० गतेसम्म देशका ७७ वटै जिल्लामा अभियान सञ्चालनमा रहने बताए । देश बनाउने हो भने सबैभन्दा पहिला व्यक्ति राम्रो बन्नुपर्छ भन्ने परिषद्को धारणा रहेको उनले बताए । ‘प्राज्ञिक विद्यार्थी परिषद्ले मंसिरको २५ गतेदेखि पुसको १० गतेसम्म यो अभियान सञ्चालन गर्दैछ,’– उनले भने ।

मेरो देश, मेरो जिम्मेवारी भन्ने मूल नारासहित सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान सुरु गर्न लागेको बताइएको छ । अभियानको क्रममा विद्यार्थी, युवा तथा आम नागरिकको बीचमा विभिन्न प्रकारका कार्यक्रम एवं गतिविधिहरु सञ्चालन गर्ने बताइएको छ । जसको माध्यमबाट समाजमा सामाजिक सद्भाव, सकारात्मक विषयहरुको प्रबर्दन, एकअर्काप्रतिको सहयोग तथा सद्भावको वृद्धि गराउने विश्वास लिइएको छ ।

अभियान अन्तर्गत देशभरका युवा विद्यार्थीबाट सुझाव संकलन गरिने, राष्ट्रपतिको कर्तव्य बोध र समर्पण भाव जागरण गराउने, साहित्य, पर्चा तथा पोष्टर वितरणमार्फत नागरिक कर्तव्य के हो भन्ने विषयमा युवाहरुमाझ स्पष्ट धारणा विकास गराउने लक्ष्य रहेको छ ।

सकारात्मक सोच, जिम्मेवारी बोध र राष्ट्रप्रेमको प्रबर्धन गर्ने उद्देश्यले देशभरी विभिन्न गतिविधि सञ्चालन गरी युवा तथा नागरिक दुवैमा सचेतना र उत्तरदायित्वको भावना विकास गरिने बताइएको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बागमती प्रदेश सहसचिव निर्मल खड्का, प्राज्ञिक विद्यार्थी परिषद् नेपालको पूर्व राष्ट्रिय सचिव शृष्टि जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्