Flash News

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

१६ बैशाख २०८०, शनिबार ०८:५४

काठमाडाैँ। एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ।

वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे।

कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।

करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३-३ विकेट लिए। अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ।

प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्