Flash News

नेपाल र युएइ फाइनलमा प्रवेश

१६ बैशाख २०८०, शनिबार १३:२२

काठमाडौँ। काठमाडौँमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन्।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो। यूएई २ रनले विजयी भयो।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो। वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुन: रोकिएको थियो।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो। नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो।

उता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो। यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो। अब फाइनल खेल सोमबार हुनेछ। कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्