
काठमाडौं । शितला माध्यमिक विद्यालय, काठमाडौंले आज आयोजना गरेको सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय तर्फबाट कार्यक्रमका सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारभूत स्तम्भका रूपमा रहेको बताएको छ।
विद्यालयका अनुसार सामाजिक लेखा–परिक्षणले विद्यालयका उपलब्धि, चुनौती, वित्तीय विवरण तथा आगामी योजनाहरू सरोकारवालासँग खुला रूपमा प्रस्तुत गर्न मद्दत गर्छ । यसले विद्यालय र समुदायबीचको विश्वास बढाउने, साझा निर्णय प्रक्रियालाई सुदृढ पार्ने र विद्यार्थीको सर्वोत्तम हितलाई केन्द्रमा राखी सहकार्यपूर्ण वातावरण निर्माण गर्ने उद्देश्य पूरा गर्दछ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं १६ की वडाध्यक्ष श्रीमती रोजिना श्रेष्ठले विद्यालयको पारदर्शिता र सतत सुधारप्रति विद्यालय नेतृत्वको प्रतिबद्धता ब्यक्त गर्दै शितलाको उन्नती र प्रगतिका लागि दिलो ज्यान दिने प्रण गर्दै छोटो समयमा विद्यालयले गरेको असल काम प्रसंशनीय रहेको बताउनुभयो।
त्यस्तै, तरुण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री बाबुराम न्यौपाने, ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक श्रीमती विष्णु कुमारी रिमालले कार्यक्रमले विद्यालय सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै रचनात्मक सुझावहरू प्रदान गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयको दिगो विकासका लागि मार्गदर्शन र सहकार्यको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने अभिभावक–शिक्षक संघका प्रतिनिधिहरूले अभिभावकको आवाज र सरोकारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको थियो।
स्रोत व्यक्ति श्री नारायण नेपालले शैक्षिक र भितक पक्षका बारेमा सुझाव र प्रोत्साहन प्रदान गर्नुभएको थियो।
विद्यालयका सर्वाधिक सक्रिय भूमिका निर्वाह गर्ने अभिभावकहरू तथा समर्पित विद्यालय कर्मचारीका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बन्न सकेको विद्यालयले जनाएको छ।
सो कार्यक्रम माध्यमिक शिक्षक लक्ष्मण ढकालले सञ्चालन गर्नु भएको थियो भने विद्यालयको प्रतिवेदन सहायक प्रधानाध्यापक ईश्वरी अधिकारी र लेखा प्रतिवेदन लेखापाल कमल पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयका प्राचार्यले सहभागी सबैलाई धन्यबाद व्यक्त गर्दै भने,
“आजको कार्यक्रममा तपाईंहरूको सहभागिता र सहयोगले यसलाई प्रभावकारी र अर्थपूर्ण बनायो। पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई निरन्तर प्रवर्द्धन गर्दै शितला माध्यमिक विद्यालयलाई एक आदर्श शिक्षण–समुदायका रूपमा अघि बढाउन हामी प्रतिबद्ध छौँ।”
कार्यक्रममा विद्यालयका विद्यार्थीदेखि अभिभावक, स्थानीय समुदाय तथा सरोकारवाला संस्थाहरूको उपस्थिति रहेको थियो।
