‘
राते काँइला’को अपूरणीय विदाइ
काठमाडौं । नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ ।
उनलाई विशेषगरी खलनायक भूमिकाका लागि जनप्रियता प्राप्त भयो । विशेषगरी नेपाली ब्लकबस्टर चिनो मा ‘राते काँइला’ को चरित्रले उनलाई घर–घरमा परिचित बनायो । यस भूमिकाले उनलाई ‘अन्तिम खलनायक’को रुपमा चलचित्रप्रेमीका मनमा गहिरो छाप छाड्न सफल रहयो ।
थापा केवल एक कलाकार मात्र थिएनन्, उनी नेपाली चलचित्रको एउटा युगीन अनुहार थिए । खलनायक वा चरित्र भूमिकामा देखिँदा उनले सिर्जना गर्ने प्रभाव दर्शकको स्मृतिमा रहिरह्यो। उनका पात्रहरू बोल्दैनथे मात्र, उनीहरू बोल्दा कथाले दिशा पाउँथ्यो । यही कारणले सुनिल थापा अभिनय होइन, चरित्र जिउँथे ।
विडम्बना नै भन्नुपर्छ, जीवनप्रति अझै उर्जा, उत्साह र योजना बोकेका कलाकार हामीबाट यति चाँडै बिदा भए । निधनको अघिल्लो दिनसम्म पनि उनी चलचित्र ‘रामनाम सत्य’ को सुटिङमा व्यस्त थिए । सहकर्मीहरूसँग हाँसेर कुरा गर्ने, भविष्यका प्रोजेक्टबारे चर्चा गर्ने उनी भोलिपल्ट बिहानै हामी सबैका लागि स्मृतिमा सीमित बने ।
चलचित्रप्रतिको उनको समर्पण अन्तिम क्षणसम्म देखिन्थ्यो। पर्दामा उनले जति कठोर पात्र निर्वाह गरे, वास्तविक जीवनमा उनी त्यति नै सरल, आत्मीय र सहयोगी थिए भन्ने कुरा उनका सहकर्मीहरूको स्मरणले प्रस्ट पार्छ । नयाँ कलाकारलाई हौसला दिने, अनुभव बाँड्ने र चलचित्रप्रति अनुशासन सिकाउने व्यक्तित्वका रूपमा पनि उनी परिचित थिए ।
थापाले नेपाली चलचित्रलाई केवल अभिनय मात्र दिएनन्, उनले चलचित्रलाई विश्वसनीयता दिए । खलनायक पात्रलाई कार्टुनजस्तो होइन, यथार्थजस्तो बनाउने साहस र क्षमता उनीसँग थियो । यही कारण उनका धेरै भूमिका कालजयी बने ।
चलचित्र उद्योगले एउटा अनुभवी स्तम्भ गुमाएको छ । यो क्षति शब्दमा व्यक्त गर्न कठिन छ । कलाकारहरू जान्छन्, तर उनीहरूले छाडेका पात्र, संवाद र प्रभाव सँधैैँ बाँच्छन् । सुनिल थापा अब पर्दामा देखिने छैनन्, तर उनले सिर्जना गरेका चरित्रहरू हरेक पटक नेपाली चलचित्र सम्झिँदा जीवित रहनेछन् ।
नेपाली चलचित्रले एक कर्मठ कलाकार मात्र होइन, एक समर्पित सहयात्री गुमाएको छ । उनको अभाव लामो समयसम्म महसुस हुनेछ । थापा पर्दाबाट ओझेल भए, तर स्मृतिबाट कहिल्यै होइन।
प्रारम्भिक जीवन र पृष्ठभूमि
१९ मे १९५७ मा जन्मिएका वरिष्ठ कलाकार थापा नेपाली चलचित्र उद्योगका एक प्रतिष्ठित अभिनेता थिए, जसले चार दशकभन्दा बढी समय नेपाली, हिन्दी तथा बिभिन्न दक्षिण एसियाली फिल्महरूमा काम गरे । उनले आफ्नो प्रारम्भिक जीवन भारत र नेपाल दुबैमा बिताएका थिए र जहाँबाट पछि चलचित्र क्षेत्रमा चम्किला कदम चाले ।
थापाले अभिनय अघि विभिन्न क्षेत्रहरूमा पनि काम गरे । उनले मुम्बईमा मोडलिङ बाट आफ्नो करियर सुरु गरे । १९७० को दशकमा बिन्नी र मफतलाल जस्ता ब्राण्डको फेसका रूपमा देखिएका थिए ।
त्यस्तै, उनी प्रोफेशनल फुटबल खेलाडी पनि हुन्; इन्च मुम्बईका क्लबहरूका लागि खेल खेलेका थिए । साथै उनले फोटो पत्रकारको रूपमा जेएस म्यागेजिनमा काम गर्दै भुटान सम्राज्ञीको समारोह समेत कवरेज गरेका थिए ।
चलचित्र यात्रा
उनले नेपाली चलचित्रमा मात्र नभई भारतीय चलचित्र उद्योगमा पनि आफ्नो पहिचान बनाएका थिए । पहिलो ठूलो अवसर बलिउड फिल्म ‘एक दुजे कि लिए’बाट प्राप्त भए पनि नेपाली फिल्म ‘चिनो’ मा ‘राते काँइला’ को भूमिकाले उनलाई घर–घरमा परिचित बनायो । त्यसपछि उनले दर्जनौँ फिल्महरूमा अभिनय गर्दै खलनायक र चरित्र कलाकारको भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनले ३०० भन्दा बढी नेपाली चलचित्रहरूमा अभिनय गरेका छन् ।
पुरस्कार र सम्मान
थापाले नेपाली चलचित्रका धेरै प्रतिष्ठित पुरस्कार जितेका छन्। उनले ‘म्यारी कोम’मा नेपाली प्रशिक्षकको भूमिकाका लागि ‘फिल्म फेयर अवार्ड’मा मनोनयन समेत पाए । यसबाहेक, ‘नेफ्टा’र अन्य अन्तर्राष्ट्रिय पुरस्कारहरूले उनको अभिनय क्षमता र योगदानको मान्यता दिएका छन्।